Pages

Wednesday, May 30, 2007

बस साहित्य’ मा संविधानसभा

सुवास आगमन
बेत्रावती बजार, रसुवा


उकाली होस् या ओराली होस्
बाटैमा ससुराली होस्,
गोरी होस् या काली होस्
ससुरालीमा एउटा साली होस् ।

यो अन्तरा ना२ख ७२६४ नम्बरको ट्रकबाट लिइएको हो । कतै आत्मानुभूति कतै ठट्यौली त कतै प्रेम पीडा पोखिएका हरफ बसका छाना, झ्याल, ढोकामा लेखिएका छन् । साहित्य ऐना हो जहाँ भावनाको प्रतिबिम्ब देखिन्छ । जीवनका उकाली-ओरालीमा भोगेका अनुभव, सामाजिक जनजीवनका सुख, दुःख, प्रेम, विरह, माया, प्रीति आदि व्यक्त गरिएका रचना सवारी साधनमा लेखिएका हुन्छन् । यी रचनाका विषयवस्तुमा सवारी साधनका कर्मचारीको आत्मानुभूति समेटिएको हुन्छ । जुन अकल्पनीय, यथार्थपरक र प्रगतिशील हुन्छन् ।
बस साहित्य एउटा परम्पराको निरन्तरता, सामाजिक जागरणको अभ्यास र समाज परिवर्तनको भद्र आन्दोलन हो । यो आन्दोलनको यात्रा आरम्भ ०६१ मंसिर २६ बाट विधिवत् रूपमा भएको हो । दुईवर्षे दौरानमा साहित्य अनुरागीका माझ बस साहित्य छलफलको विषय बन्न सफल भयो । थुप्रै आलोचना र समर्थन प्राप्त भयो । केहीले बस साहित्य नै किन ?, ट्रक, जीप, कार, रिक्सा, नहुने भन्ने तर्क राखे, केहीले सवारी साहित्य राख्ने सुझाव दिए । मूलतः सवारी साहित्य, यात्रा साहित्य गतिशील साहित्य, ट्रक साहित्य आदि जे नामले सम्बोधन गरेपनि यो यात्राको आशय एउटै हो । बस अरू सवारी साधनका तुलनामा फरक छ । यो साझा साधन हो जसले सर्वसाधारण मानिस ओसार-पसार गर्छ । जीप, ट्याक्सी भ्यानमा धेरैको पहुँच हुँदैन, आवत-जावत हुँदैन र ट्रक सामान ओसार-पसार गर्ने साधन हो । सबैले सरल रूपमा सवार गर्ने साधन र एकैपटक धेरैले यात्रा गर्ने भएकाले 'बस' शब्दलाई सम्पूर्ण यातायातका साधनको प्रतीकात्मक रूपमा समेटी 'बस साहित्य' भनिएको हो ।
एक्काइसौं शताब्दीको साहित्य, वर्ण, लिङ्ग, जाति, धर्म, सम्प्रदाय आदि भेदभावबाट मुक्त हुनु आवश्यक छ । हामीमा बस साहित्यको अभ्यास व्यवस्थित रूपमा बसिसकेको छैन । यसलाई सही रूपमा प्रयोग गर्ने हो भने जागरणका लागि सन्देश सम्प्रेषण गर्ने भरपर्दो माध्यम बन्नेछ । सामाजिक परिवर्तनका लागि बस साहित्यको सही प्रयोग, यसको महत्त्व, असर र आवश्यकताका विषयमा छलफल हुनु आवश्यक छ ।
नेपालमा संविधानसभा बहस जोडदार रूपमा चलिरहेको छ । संविधानसभाको अभ्यासमा राजनीतिक जागरण ल्याउन बस साहित्य विशिष्ट कोशेढुंगा हुनेछ भन्नेमा दुईमत छैन । सवारी साधनका भित्तामा संविधानसभाका विषयवस्तु समेटिएका चोटिला, स्वादिला, सन्देशात्मक रचना लेख्ने हो भने बस साहित्यले राष्ट्रको राजनीतिक परिवर्तनको शंखघोष गर्नेछ । राजनीतिक जागरण र परिवर्तनका लागि यो सही विकल्प हो । सवारी साधनमा संविधानसभाका विषयवस्तुसँग सम्बन्धित रचना, सायरी, कार्टुन, चित्र कोर्ने हो भने लाखौंका संख्यामा मेची-महाकाली गुड्ने सवारी साधनले करोडौं जनतालाई एकैपटक सन्देश प्रवाह गर्नेछन् । यस्ता रचना दलहरूको व्यक्तिगत उद्देश्य प्राप्तिको साधन बन्नु हुँदैन । मानव अधिकार र असल शासनका विषय लेखेर हामी दलहरूलाई मर्यादित, पारदर्शी र जवाफदेही बनाउन सक्छौं ।

No comments: